काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए।
उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ।
बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ।
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो।
एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरुले बताएका छन्। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ।