योङ कम्यूनिष्ट लीग (वाईसीएल) नेपाल, जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट योगेन लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ। नयाँ नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता जनाएको छ।
अध्यक्षको रूपमा योगेन लिम्बू निर्वाचित भएका छन् भने उपाध्यक्षका रूपमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन्। सचिवको जिम्मेवारी सुशन खड्काले सम्हाल्नेछन्। सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन्, र कोषाध्यक्षको जिम्मेवारी इन्द्रबहादुर राईले सम्हाल्नेछन्।
कार्यभार ग्रहण गर्दै अध्यक्ष योगेन लिम्बूले संगठनको आगामी कार्ययोजना र लक्ष्यका बारेमा मन्तव्य व्यक्त गरेका थिए। उनले युवा सशक्तिकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाई.सि.एल. नेपाल मोरङले समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बनाउने बताएका छन्। सम्मेलनमा पार्टीका विभिन्न सदस्य र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
नयाँ नेतृत्वले संगठनको भविष्य उज्जवल बनाउने प्रतिबद्धता जनाउँदै सफल कार्यकालका लागि साझा संकल्प व्यक्त गरेको छ।
