उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाभित्रको १४ दशमलव ५ किलोमिटर सडक कालोपत्रेका क्रममा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन् ।
विश्व बैंकको सहयोगमा गाईघाट बजार क्षेत्रमा निर्माण भइरहेको सडक निर्माणका काममा कमसल सामग्रीको प्रयोग गरिएको स्थानीयले आरोप लगाएका हुन् ।
गाईघाट टाउन प्लानिङका सडक, सिटी हल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजी चोक–फुलचोक–बोटेटोल, त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगति टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषि बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने क्रममा कमसल सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम भइरहेको त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताए ।

‘हामी जनप्रतिनिधिहरूकै आँखामा छारो हालेर ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेर सडक निर्माण गरिरहेको छ, सबै सचेत नागरिकले आवाज उठाउन आवश्यक छ,’ उनले भने । नगरपालिकाले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न कुनै कन्जुस्याइँ नगर्दा पनि असारको १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने काम सुस्त गतिमा भइरहेको उनको भनाइ छ ।