इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त, ६५ घाइते — आरोप र अस्वीकारबीच चर्किंदो तनाव

0 Shares

यरुशलम/तेहरान – इरानबाट प्रक्षेपित क्षेप्यास्त्र आक्रमणमा इजरायलको दक्षिणी क्षेत्र बेरशेबामा रहेको सोरोका अस्पताल क्षतिग्रस्त भएको छ भने कम्तीमा ६५ जना घाइते भएका छन्। इजरायली अधिकारीहरूले अस्पताल र वरपरको नागरिक क्षेत्रलाई सिधै निशाना बनाएको आरोप इरानमाथि लगाएका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भने, “आज बिहान इरानका आतंकवादी तानाशाहहरूले सोरोका अस्पताल र बेरशेबाको नागरिक जनसंख्यामा मिसाइल प्रहार गरे। उनीहरूले यसको पूरा मूल्य चुकाउनेछन्।”

आपतकालीन सेवा म्यागेन डेभिड एडोम  का अनुसार घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ। इजरायली सैन्य अधिकारीले इरानले दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन्।

तर इरानले भने इजरायलको आरोप अस्वीकार गरेको छ। इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूज एजेन्सीले प्रकाशित रिपोर्टमा भनिएको छ, “इरानी आक्रमणको निशाना सैन्य अड्डा थियो, अस्पताल होइन। अस्पताल केवल विस्फोटको लहरको सम्पर्कमा आएको हो र गम्भीर क्षति भएको छैन।”

रिपोर्टअनुसार, इरानले बेरशेबाको गा-याम टेक्नोलोजी पार्क क्षेत्रमा रहेको इजरायली सेनाको गुप्तचर केन्द्र र कमाण्ड मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ।

यो घटनाले इरान–इजरायल तनाव झनै चर्किएको छ। दुबै पक्षले एकअर्कालाई आक्रमणको दोष दिँदै तीव्र प्रतिक्रिया जनाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउन आह्वान गरिरहेका बेला, क्षेत्रीय सुरक्षा संकट गहिरिँदै गएको संकेत देखिएको छ।

सम्बन्धित समाचारसबै