इरान र इजरायलबाट नेपालीको उद्धार सुरु

0 Shares

काठमाडौँ — सरकारले युद्धग्रस्त इरान र इजरायलबाट नेपाली श्रमिकको उद्धार सुरु गरेको छ ।

सरकारले भारत सरकारसँग समन्वय गरेर तेहरानमा रहेका ११ नेपाली श्रमिकलाई आइतबार राति इरानकै अर्को सहर मसहद पुर्‍याएको हो ।

 

तेहरानस्थित भारतीय दूतावासले उपलब्ध गराएको बसबाट झन्डै ९ सय किलोमिटर टाढाको मसहद पुगेका उनीहरूलाई भारत सरकारले चार्टर्ड गरेको विमानमार्फत मंगलबार दिल्ली ल्याउने तयारी छ । ‘११ जना सुरक्षित रूपमा मसहद आइपुगेका छौं । बाटोमा

अप्ठ्यारो झेल्नु परेन । अहिले होटलमा बसेका छौं,’ उदयपुरका हरि थापाले भने, ‘भारतले प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ । उडानको प्रतीक्षामा छौं ।’

मसहद पुग्नेमा थापा, उनकी श्रीमती गायत्री कार्की थापा, छोरा उत्सव, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन् । राहदानी नभएकाले बन्जाडेको उडान तत्काल नहुने भएको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा कार्यरत थिए । कतारको दोहास्थित नेपाली दूतावासले यी नेपालीसँग समन्वय भइरहेको जनाएको छ । तेहरानको जेलमा रहेका ५ नेपालीको उद्धारका लागि पनि प्रक्रिया थालिएको दूतावासले जनाएको छ ।

इजरायलमा रहेका नेपालीको पनि उद्धार सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा झन्डै ५५ सय नेपाली कार्यरत छन् । इजरायल–इरान युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपाली सुरक्षित स्थान खोज्दै बसिरहेका छन् । तीमध्ये केहीले नेपाल फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका ९ सय १८ जनाले नेपाल फर्कन भन्दै फारामसमेत भरेका छन् ।

सम्बन्धित समाचारसबै