विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभरका साथै विदेशमा रहेका हिन्दु धर्मावलम्बीले विशेष पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइरहेका छन् । भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा माता देवकी र पिता वासुदेवका पुत्रका रूपमा कृष्ण जन्मिएको धार्मिक विश्वास छ ।
यस दिन बिहान सबेरै नुहाइधुवाइ गरी व्रत बस्ने, दिनभर जल वा फलफूल सेवन गरी सात्विक जीवनशैली अपनाउने परम्परा रहि आएको छ । मध्यरातमा कृष्ण जन्म भएको क्षणलाई सम्झँदै भक्तजनले धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराई विशेष पूजा गर्ने गर्छन् । यस अवसरमा मन्दिरहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ भने घर–घरमा पनि कृष्णपूजा गरिन्छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती वा साधारण भाषामा जन्माष्टमी पनि भनिन्छ । यस दिनको पूजा–आराधनाले सन्तान प्राप्ति, दीर्घायु, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । धर्मग्रन्थअनुसार कमजोर चन्द्रमा भएका व्यक्तिले कृष्णपूजा गरेमा विशेष लाभ प्राप्त हुने उल्लेख गरिएको छ ।
आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्ण, सन्तान प्राप्तिका लागि बालक कृष्ण र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाएर पूजा गर्ने चलन छ । कृष्णपूजामा कालो रंगको प्रयोग वर्जित मानिन्छ भने फूल र गोपी चन्दनलाई विशेष महत्व दिइन्छ ।
हातमा मुरली, शिरमा मयूरपिच्छ, बंशीको मधुर धुन र गोपिनीहरूको मायामा रमण गर्ने भगवान् श्रीकृष्णलाई आजको दिन विशेष श्रद्धा र भक्तिसहित सम्झना गरिन्छ । यसै विश्वासका आधारमा भक्तजनहरूले आज देश–विदेशमा विशेष उल्लासका साथ कृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् ।