नेपाली कांग्रेसभित्रको संस्थापन इतर (शेखर गुट) समूहले पार्टीको १५औं महाधिवेशन आगामी निर्वाचनअघि नै सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।
शुक्रबार बिहान नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २१ गते हुने आमनिर्वाचनअघि महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा अघि सारेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टीलाई सुदृढ र नेतृत्वलाई नयाँ जनादेश दिलाउन महाधिवेशन ढिलो नगर्नुपर्ने निष्कर्ष निकालिएको छ।
उनका शब्दमा, “निर्वाचनअघि नेतृत्वको जनादेश स्पष्ट हुनुपर्छ। त्यसैले ढिलोमा पुस मसान्तभित्र महाधिवेशन सम्पन्न हुन आवश्यक छ।”
बैठकले पुस १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार पार्न जिम्मेवारी महामन्त्रीद्वयलाई दिएको छ।
त्यस्तै, महाधिवेशनको तयारीका लागि देशभरका जिल्ला सभापति र प्रतिनिधिहरूसँग परामर्श सुरु गर्ने निर्णय पनि गरिएको बैठकपछि जानकारी दिइयो।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपमहामन्त्री डिला संग्रौला, नेता मिन विश्वकर्मा, प्रदीप पौडेल, तथा अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा बोल्ने अधिकांश नेताहरूले कांग्रेसभित्र सुदृढ संगठन, पारदर्शी नेतृत्व र समयमै महाधिवेशनमार्फत नयाँ उत्साह जगाउनुपर्नेमा जोड दिएका थिए।