काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले तयारी तीव्र बनाएका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनको काम एकैसाथ अघि बढाएपछि देशभर राजनीतिक गतिविधि बढेको हो।
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरूका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि ९३ वटा दलले समानुपातिक सूचीमा रहन निवेदन दिएको जानकारी दिए।
यसपटकको निर्वाचनमा राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिशत तय गरिएको छ। खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगले नयाँ प्रतिशत लागू गरेको छ। उम्मेदवार छनोटमा सहयोग पुर्याउन आयोगले दलहरूलाई आवश्यक तालिमसमेत दिइसकेको छ।
निर्वाचनको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद पनि सुरु भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए।
यसैबीच, आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्दै प्रक्रिया अघि बढाएको छ।
विघटित प्रतिनिधिसभामा रहेका पुराना दलदेखि नयाँ दर्ता भएका दलसम्म अहिले समावेशी समूह मिलाएर बन्दसूची तयार पार्न आन्तरिक छलफलमा व्यस्त छन्। निर्वाचन आयोगले तोकिएको समयमै बन्दसूची बुझाउन र निर्वाचन आचारसंहिता पालना गर्न सबै दलहरूलाई आग्रह गरेको छ।