राष्ट्रियसभा निर्वाचनअघि गठबन्धनको गणित: कांग्रेस–एमाले–नेकपाबीच संवाद तीव्र

0 Shares

काठमाडौँ। राष्ट्रियसभाको आगामी निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच गठबन्धनको गणित फेरि चलायमान बनेको छ। एक्लै मैदानमा उत्रिँदा अपेक्षित नतिजा नआउने निष्कर्षमा पुगेपछि कांग्रेस र एमाले दुवैले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पनि छलफल अघि बढाएका छन्।

नेकपाले पनि गठबन्धन अपरिहार्य रहेको ठहर गर्दै विभिन्न दलसँग संवाद गरिरहेको छ। पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमाले दुवैसँग अनौपचारिक छलफल भइरहेको छ।

उनका अनुसार हालसम्म औपचारिक वार्ता टोली वा कमिटी गठन नभए पनि विभिन्न माध्यमबाट संवाद जारी छ। “निर्वाचन नजिकिँदैछ, एक–दुई दिनमै कुनै निष्कर्षमा पुग्ने सम्भावना छ,” खतिवडाले भने।

खतिवडाले एमालेसँग पनि संवाद भइरहेको स्वीकार गरे तापनि विगतको सहकार्य र राजनीतिक सामीप्यका कारण कांग्रेससँग गठबन्धन बन्ने सम्भावना बढी देखिएको बताए। “राजनीतिमा सहकार्य असम्भव हुँदैन। जोसँग पनि हुनसक्छ, तर अहिलेको अवस्थामा एमालेभन्दा कांग्रेससँग कुरा मिल्ने सम्भावना बढी छ,” उनले थपे।

यसैबीच, माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच पनि मिलेर जाने विषयमा आन्तरिक तथा बाह्य छलफल तीव्र बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रियसभादेखि आगामी निर्वाचनसम्म जेनजी आन्दोलनअघि कायम रहेको गठबन्धनलाई निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको बताइन्छ।

तर कांग्रेसभित्रै एकथरी नेताहरू भने एमालेभन्दा नेकपासँग गठबन्धन गर्दा पार्टीलाई बढी फाइदा हुने तर्क गर्दै त्यसतर्फ जोड दिइरहेका छन्। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेबाहेक अन्य दलसँग पनि संवाद भइरहेको भए पनि हालसम्म कुनै ठोस निष्कर्षमा नपुगेको जानकारी दिए।

उता एमालेका नेताहरूले पनि कांग्रेस मात्र नभई नेकपासँग समेत छलफल भइरहेको बताएका छन्। फागुन २० देखि रिक्त हुन लागेको १९ मध्ये १८ स्थानका लागि हुने राष्ट्रियसभा निर्वाचनले आगामी राजनीतिक समीकरण कस्तो बन्छ भन्ने संकेत गर्ने देखिन्छ।

सम्बन्धित समाचारसबै