कीर्तिपुर होल्डिङ सेन्टर घटना: प्रहरी दमन र यातना विरुद्ध कानुनी लडाइँ लड्ने अभियन्ता अन्सारीको घोषणा ।

0 Shares

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका जेनजी (Gen Z) अभियन्ता माजिद अन्सारीले आफूमाथि नेपाल प्रहरीले बर्बर दमन र कुटपिट गरेको आरोप लगाउँदै त्यस विरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि एक विज्ञप्ति जारी गर्दै अभियन्ता अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको खुलासा गरेका हुन् ।

विज्ञप्ति अनुसार, कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनी र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । प्रहरीले सुनियोजित रूपमा क्यामेराको पहुँच नभएको ठाउँमा लगेर १०–१२ जनाको समूहमा अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको अन्सारीले उल्लेख गरेका छन् ।

अस्पतालभित्रै गृह मन्त्रालय र प्रहरीको निगरानी र धम्की उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल (टीचिंग) पुर्‍याइएका अन्सारीले अस्पताल भित्रै पनि गृह मन्त्रालय र प्रहरी प्रशासनको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरेका छन् ।

“मेरो मेडिकल हिस्ट्रीमा ‘प्रहरी कुटपिट’ भन्ने शब्द समेत लेख्न नदिन चौतर्फी कोसिस गरियो,” अन्सारीले विज्ञप्तिमा भनेका छन्, “क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की समेत दिइयो ।”

उनले आफूलाई करिब ३–४ दिनसम्म अस्पतालमै प्रहरी निगरानीमा राखेर निरन्तर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।

हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा ‘बेड रेस्ट’मा रहेका अभियन्ता अन्सारीले स्वास्थ्य अवस्था सामान्य हुनासाथ आफूमाथि भएको नियोजित घेराबन्दी, कुटपिट र मानसिक यातनाका विरुद्ध कानुनी उपचार खोज्ने स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचारसबै