काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पीडितहरूको अर्थपूर्ण सहभागितासहित तत्काल पदाधिकारी नियुक्ति गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलमा बृहत् विरोध प्रदर्शन भएको छ।
‘आम द्वन्द्वपीडित समुदाय’ को आयोजनामा बिहीबार भएको उक्त प्रदर्शनमा सहभागीहरूले पीडितलाई बाहिर राखेर वा राजनीतिक भागबन्डाका आधारमा गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्। विश्वसनीय, निष्पक्ष र पारदर्शी प्रक्रिया अपनाएर मात्र दुवै आयोग गठन गरिनुपर्ने उनीहरूको जोड छ।
प्रदर्शनका क्रममा द्वन्द्वपीडितहरूले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको प्रक्रिया अधुरो र अर्थहीन हुने बताए। “हामीलाई न्याय देऊ,” “भागबन्डाका आधारमा आयोग गठन बन्द गर,” र “पीडितको सहभागिता निश्चित गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर पीडितहरू प्रदर्शनमा उत्रिएका थिए।
संक्रमणकालीन न्याय प्रक्रिया लामो समयदेखि अनिर्णीत बन्दा हजारौँ पीडित परिवार अझै पनि न्याय र सत्यको पर्खाइमा तड्पिरहेको भन्दै वक्ताहरूले राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन्। राजनीतिक दलहरूले आफ्ना अनुकूलताका आधारमा आयोग गठन गर्न खोजेको आरोप लगाउँदै उनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको परमादेशअनुरूप आयोगलाई पूर्णता दिन माग गरेका छन्।




