सिरहा — कर फछ्र्यौट गरिदिने भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई कार्यालय परिसरबाटै बिहीबार रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले अडिट सहज बनाइदिने भन्दै रकम मोलमोलाइ गरेका थिए।
प्रारम्भिक कर मूल्यांकनमा कम्पनीमाथि करिब २ करोड रुपैयाँसम्मको कर तथा जरिवाना दायित्व पर्ने देखाइएको थियो। कम्पनीले थप कागजात पेस गरेपछि दायित्व घटाएर ३० देखि ३५ लाख रुपैयाँसम्म पुर्याइदिने र थप १२ लाख रुपैयाँ दिए ‘सबै समस्या मिलाइदिने’ प्रस्ताव पालले राखेका थिए। कम्पनीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः ५ लाख रुपैयाँ घुस लिने सहमति भएको थियो।
पालले उक्त रकम आफूभन्दा माथिल्ला कर अधिकृत प्रकाश राईसहित अन्य अधिकारीहरूलाई समेत मिलाउनुपर्ने दाबी गर्दै आएका थिए।
घुस रकम लिनका लागि पालले बिचौलिया र आफ्ना भाइमार्फत रकम बुझाउने प्रयास गरे तापनि अन्तिममा बिहीबार बिहान कार्यालयमै रकम ल्याउन निर्देशन दिएका थिए। सोही क्रममा पूर्वसूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई ५ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई नियन्त्रणमा लिई घटनाबारे थप गहन अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।