चिकित्सकमाथि आक्रमणपछि मन्त्रालयको कडा अपिल | ‘दोषीलाई कारबाही हुन्छ, सेवा नरोक्नुहोस्’ ||

0 Shares

काठमाडौँ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रशासनबाटै भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सेवा अवरुद्ध नगर्न अपिल गरेको छ।

मङ्गलबार मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको संवेदनशीलता, पेसाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरी उपचार सेवा सुचारु राख्न सबै अस्पतालहरूसँग आग्रह गरेका हुन्।

“स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालय सम्पूर्ण अस्पतालहरूमा अपिल गर्दछ।”

डा. समीरकुमार अधिकारी, सह-प्रवक्ता (स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय)

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले तीव्र रूपमा काम गरिरहेको दाबी गरेको छ।

प्रशासनबाटै दुर्व्यवहार भएको चिकित्सक संघको आरोप

यसैबीच, नेपाल चिकित्सक संघले भने राज्यबाटै चिकित्सकहरूमाथि दमन र मानमर्दन भएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण भई डा. रामको टाउकोमा गम्भीर चोट लागेको थियो। सोही क्रममा उत्तेजित समूहले अस्पतालका भौतिक संरचनाहरूसमेत तोडफोड गरेको थियो।

उक्त घटनामा संलग्नहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कडा कारबाहीको माग गर्दै वार्ताका लागि पर्सा जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकहरूमाथि दुर्व्यवहार भएको संघले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी (CDO) भोला दाहालको उपस्थितिमा पर्साका प्रहरी प्रमुख (SP) सुदीपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखा अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचारसबै