धनकुटा । गाउँबाट सहरतर्फ बसाइँसराइ बढिरहेका बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँमा नयाँ परिवार भित्र्याउने र उनीहरूलाई स्थायी रूपमा बसाउने नयाँ योजना अघि सारेको छ।
यसअघि बसाइँसराइ गरेर आउने परिवारलाई दुहुना गाई वितरण गर्दै आएको गाउँपालिकाले अब नयाँ परिवारका लागि घर निर्माणमा सहयोग गर्ने योजना अघि सारेको हो।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको दुहुना गाई कार्यक्रममार्फत पाँच वर्षमा ५० परिवारलाई लैनो गाई वितरण गरेको थियो। नयाँ ठाउँमा आएका परिवारलाई दूध उत्पादनबाट आम्दानीको आधार तयार पारेर गाउँमै टिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो।
तर पाँच वर्षको अनुभवपछि गाउँपालिकाले केवल आयआर्जनको अवसरले मात्रै परिवारलाई गाउँमा टिकाउन कठिन हुने निष्कर्ष निकालेको छ। त्यसैले अब सुरक्षित र स्थायी आवासलाई प्राथमिक आधार बनाएर नयाँ परिवारलाई गाउँमा बसाउने तयारी गरिएको हो।
गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार दुहुना गाई कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि नयाँ परिवारका लागि दीर्घकालीन बसोबासको आधार तयार पार्न घर निर्माणमा जोड दिन लागिएको हो।
गाउँपालिकाको योजना अनुसार बसाइँसराइ गरेर आउने र गाउँमै स्थायी रूपमा बस्न चाहने परिवारलाई लक्षित गरी आवास निर्माणमा सहयोग गरिनेछ। घर निर्माणसँगै त्यस्ता परिवारलाई कृषि, पशुपालन तथा अन्य स्थानीय आर्थिक गतिविधिसँग जोड्ने लक्ष्यसमेत गाउँपालिकाको छ।
यसअघि गाउँपालिकाले बसाइँसराइ गरेर आएको तीन महिना पूरा भएपछि कागजात तथा स्थलगत अनुगमनका आधारमा योग्य परिवारलाई गाई वितरण गर्दै आएको थियो। अब भने त्यस्ता परिवारलाई पहिलो प्राथमिकतामा बसोबासको आधार र त्यसपछि आयआर्जनको अवसर उपलब्ध गराउने सोच अघि सारिएको छ।
छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये तेह्रथुमका परिवारको संख्या बढी छ। धनकुटाका अन्य स्थानीय तहसँगै भोजपुर, संखुवासभा र झापाबाट समेत परिवारहरू यहाँ बसाइँसराइ गरेर आएका छन्।
गाउँपालिकाले नयाँ परिवार भित्र्याउने मात्र नभई उनीहरूलाई गाउँमै स्थायी रूपमा बस्ने वातावरण तयार पार्न घर निर्माण, रोजगारी र उत्पादनसँग जोड्ने योजनालाई एकसाथ अघि बढाउने तयारी गरेको छ।