उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा पतिले हँसिया प्रहार गर्दा पत्नीको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब १२ः३० बजे ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी ४५ वर्षीया पत्नी विमला राईमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट विमलाको घाँटीमा गम्भीर चोट लागेको थियो।
घटनापछि गन्दुराम आफैँ अस्थायी प्रहरी चौकी माडिबास पुगेका थिए। उनले नै घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टार लगेको छ।
यसैबीच, प्रहरी टोलीले गम्भीर घाइते विमलालाई उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएको थियो। तर, अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका गन्दुरामविरुद्ध कर्तव्य ज्यान मुद्दामा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।