विराटनगर | मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले आधुनिक सुविधासहितको आँखा विभाग सञ्चालनमा ल्याएको छ।
विश्व दृष्टि दिवसको अवसर पारेर असोज २२ गतेदेखि अस्पताल परिसरमा निर्माण गरिएको छुट्टै भवनबाट आँखा विभाग सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
नवनिर्मित विभागबाट आँखासम्बन्धी रोगको विशेषज्ञ परामर्श, विस्तृत आँखा परीक्षण, दृष्टि परीक्षण तथा चस्माको पावर जाँचलगायत सेवा उपलब्ध हुने जनाइएको छ। मोतियाबिन्दु, जलविन्दु, रेटिना तथा मधुमेहका कारण आँखामा देखिने समस्या, कर्निया तथा ड्राइ आई, बालबालिकामा हुने आँखासम्बन्धी समस्या र स्क्विन्ट (भेंगोपन) को परीक्षण तथा उपचारसमेत गरिने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार विभागबाट फेकोइमल्सिफिकेसन (Phacoemulsification) प्रविधिबाट आधुनिक मोतियाबिन्दुको शल्यक्रिया सेवा पनि उपलब्ध हुनेछ। यस प्रविधिबाट बिना सिलाइ, बिना पट्टी र छिटो निको हुने गरी मोतियाबिन्दुको उपचार गर्न सकिने अस्पतालको भनाइ छ।
त्यस्तै, मधुमेहका कारण हुने डायबेटिक रेटिनोप्याथी, जलविन्दु तथा नानीसम्बन्धी समस्याको प्रारम्भिक पहिचान र उपचारका लागि आधुनिक प्रविधियुक्त पूर्वाधार तयार गरिएको अस्पतालले जनाएको छ।
आर्थिक रूपमा कमजोर तथा पहुँचविहीन वर्गका बिरामीलाई सहज उपचार उपलब्ध गराउन विशेष आर्थिक सहायता प्रणालीसमेत लागू गरिएको छ। गाउँगाउँ तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचारलाई प्राथमिकता दिने अस्पतालको योजना छ।
आँखा परीक्षणका लागि आवश्यकताअनुसार ओसीटी (OCT), फन्डस फोटोग्राफी, भिजुअल फिल्ड टेस्ट, टोनोमेट्री, प्याचिमेट्री र कर्नियल टोपोग्राफी लगायतका आधुनिक उपकरणको व्यवस्था गरिएको छ। आँखामा चोटपटक लाग्ने, बाह्य वस्तु प्रवेश गर्ने तथा अचानक दृष्टि कम हुनेजस्ता आकस्मिक अवस्थाका लागि आइ इमर्जेन्सी तथा माइनर प्रोसेड्योरको सेवा पनि उपलब्ध हुने जनाइएको छ।
अस्पतालले आर्थिक वा भौगोलिक कारणले कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यले आधुनिक आँखा उपचार सेवा समुदायसम्म पुर्याउने जनाएको छ।