माटोमा पानी छर्केर सांसदको ‘स्टन्टबाजी’: स्थानीय भन्छन्– ‘प्रचार होइन, बाटो पक्की बनाऊ’ ||

0 Shares

विराटनगर | विराटनगर–कटहरी हुलाकी सडक खण्ड निर्माणको ढिलाइले वर्षौँदेखि सर्वसाधारण सास्ती व्यहोर्न बाध्य छन्। तर, हालै उक्त सडक खण्डमा सामान्य पानी हालेर माटो सम्म्याउने काम भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले भने आफूले नै ठूलै उपलब्धि हासिल गरेझैँ सामाजिक सञ्जालमा प्रचारबाजी सुरु गरेपछि स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन्।

लामो समयदेखि धुलाम्य र खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको उक्त हुलाकी सडकमा यातायात सहज बनाउन ठेकेदार तथा सम्बन्धित निकायले सामान्य टालटुल र पानी छ्याप्ने काम गरेका थिए। सोही विषयलाई लिएर सांसद राजवंशी र उनका समर्थकहरूले सामाजिक सञ्जालमा ’आफ्नो पहलमा सडक सुधार भएको’ भन्दै फोटो र भिडियो पोस्ट गरी प्रचार तीव्र पारेका हुन्।

सांसदको यस्तो प्रचारबाजीप्रति कटहरी र विराटनगरका स्थानीयले कडा आपत्ति जनाएका छन्। लामो समयदेखि अलपत्र परेको हुलाकी सडकको पूर्ण निर्माण हुनुको साटो सामान्य पानी हालेर धुलो दबाउने र माटो सम्म्याउने कामलाई नै ठूलो ‘स्टन्ट’ बनाइएको स्थानीयको आरोप छ।

“वर्षौँदेखि यो बाटो बनेको छैन, जनताले धुलो र हिलोको सास्ती भोगिरहेका छन्,” स्थानीय एक बासिन्दाले भने, “अहिले सामान्य पानी छर्केर माटो सम्म्याउने काम हुँदा सांसदज्यूले ठूलै काम गरेझैँ प्रचार गर्नुभयो। हामीलाई प्रचार होइन, पक्की सडक चाहिएको हो। सडक पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि मात्रै जस लिन र प्रचार गर्न सुहाउँछ।”

हुलाकी सडक आयोजनाअन्तर्गतको यो खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीका कारण स्थानीय व्यापारी, सवारी चालक र सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। धुलोका कारण स्वास्थ्य समस्या बढेको र व्यापार-व्यवसायसमेत चौपट भएको भन्दै स्थानीयले पटक-पटक विरोध प्रदर्शन गर्दै आएका थिए।

स्थानीयहरूका अनुसार जननेता वा जनप्रतिनिधिको काम कामै नसकिई सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नुभन्दा निर्माण व्यवसायीलाई दबाब दिएर सडकको कालोपत्रे सम्पन्न गराउनेतर्फ ध्यान केन्द्रित हुनुपर्ने हो। सामाजिक सञ्जालमा सर्वसाधारणले पनि जनप्रतिनिधिलाई सस्तो प्रचारभन्दा ठोस नतिजा दिन आग्रह गर्दै प्रतिक्रिया दिइरहेका छन्।

सम्बन्धित समाचारसबै