काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मौसमी गतिविधि थप सक्रिय हुँदा केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहन सक्छ।
महाशाखाका अनुसार सोमबार र मंगलबारसम्म मौसम सामान्यतया सफा रहनेछ। बुधबारदेखि हिमाली तथा पहाडी क्षेत्रमा बदली सुरु हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात बढ्ने सम्भावना छ। कर्णालीको हिमाली क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्नेछ।
शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। शनिबारसम्म प्रणालीको प्रभाव कायम रहने र त्यसपछि मौसम क्रमिक रूपमा सुधार हुने अपेक्षा गरिएको छ।
यो मौसमी परिवर्तनले धानबाली भित्र्याइरहेका किसान तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र पदयात्रीलाई प्रभावित पार्न सक्छ। त्यसैले मौसमको अद्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट वा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिन्छ।