विराटनगर । सनातन हिन्दुराष्ट्र नेपालको कामनासहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पर्वको अवसर पारेर दण्डवत् प्रणाम यात्रा सुरु गरेका छन्। छठी माताप्रतिको आस्था र धार्मिक विश्वासलाई राजनीतिक तथा सामाजिक आकांक्षासँग जोड्दै उनले आइतबार बिहानदेखि सडकमा घस्रिएर आफ्नो यात्रा थालेका हुन्।
विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिरमा पूजाआजा गरेपछि बिहान १० बजेदेखि पराजुलीले सिंघिया घाटसम्म दण्डवत् प्रणाम यात्रा सुरु गरेका हुन्। मन्दिरदेखि घाटसम्मको करिब साढे तीन किलोमिटर दूरी उनले शरीरलाई भुइँमा सुताएर दण्डवत् गर्दै पार गर्नेछन्।
पराजुलीका अनुसार उनले विगतमा विभिन्न मनोकामना राखेर दण्डवत् यात्रा गर्दै आएका थिए। पछिल्ला केही वर्षयता भने छठी माताको आराधना गर्दै हिन्दुराष्ट्र नेपालको कामनासहित यस्तो यात्रा गर्दै आएका छन्। करिब ३० वर्षदेखि निरन्तर निराहार बसेर छठी माताको व्रत गर्दै आएका पराजुलीले यस वर्ष पनि आफ्नो धार्मिक परम्परालाई निरन्तरता दिएका हुन्।
छठ पर्वमा व्रत बसेर श्रद्धापूर्वक छठी माताको आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा लाखौँ श्रद्धालु भक्तजनले कठोर व्रत, उपवास र पूजाआराधना गर्दै छठ पर्व मनाउने गर्छन्। यसैबीच, छठ पर्वको मुख्य दिन आइतबार विराटनगरका विभिन्न नदी, खोला, पोखरी तथा नहरका घाटहरूमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ। सिंघिया, केसलिया, सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर तथा जलाशयमा घाट निर्माण गरी सजावट गरिएको छ।
चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गरी चारदिने छठ पर्वको समापन गर्नेछन्।