दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई जना पक्राउ-BHITRAKOKHABAR-

0 Shares

दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ ।हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । घर परिवारले खोज्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए ।

‘परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको छ,’ प्रहरी निरीक्षक सुनारले भने । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । ‘त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएछ । ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ’ प्रहरी निरीक्षक सुनारले भने ।

दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ‘हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौ,’ उनले भने, ‘पछि शनिवार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले २५ गते नै हत्या गरेर घर नजिकै खाल्डो खनी गाडेका छौं’ भन्ने बयान दिएका थिए ।’हत्या अभियोगमा ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारसबै