
धादिङ, भदौ १८ । त्रिशूली नदीको कटानका कारण धादिङको कृष्णभिरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड तीन दिनदेखि अवरुद्ध छ । पहिरोका कारण काठमाडौंलाई चितवन, तनहुँ, कास्की हुँदै पश्चिम नेपालसँग जोड्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएको छ ।
कृष्णभिरमा पहिरोको समस्या नयाँ होइन । २०५० को दशकको अन्त्यतिर यस क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको थिया े। समस्या नियन्त्रण गर्न २०६० सालमा पहिरो रोकथामका लागि विभिन्न संरचना निर्माण गरिएको थियो । तर, ती संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो । निर्माण भएको दुई दशकपछि संरचनाको आयु सकिएसँगै कृष्णभिरमा पुनः ठूलो पहिरो खसेको हो ।
यसपटकको पहिरोले सडक अवरुद्ध गराउनुका साथै कृष्णभिरको दीर्घकालीन जोखिम फेरि उजागर गरेको छ । त्रिशूली नदीले सडकतर्फको जमिन कटान गरिरहेकाले पुरानै स्थानमा सडकलाई सुरक्षित रूपमा पुनःस्थापना गर्नु चुनौतीपूर्ण देखिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौभित्रै कृष्णभिरको सडक सञ्चालनमा ल्याउने दाबी गरेका छन् । तर, तत्काल सडक खुलाउनु मात्रै पर्याप्त नहुने प्राविधिकहरूको भनाइ छ । कतिपय प्राविधिकले जोखिमयुक्त क्षेत्रलाई नै छाडेर वैकल्पिक सडक निर्माण गर्नुपर्ने भन्दै सरकारले विकल्पबारे सोच्नुपर्ने बताएका छन ।
वर्षौंदेखि दोहोरिँदै आएको पहिरो, नदीको निरन्तर कटान र कमजोर बन्दै गएको भू–बनोटका कारण कृष्णभिरमा दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था देखिएको छ ।