शिशु र महिलाको कुपोषणमा काम गर्न : स्वास्थ्यमन्त्रीको प्रस्ताव,

0 Shares

काठमाडौँ | नेपालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । 

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै उक्त आग्रह गर्नुभएको हो ।

नेपालमा अहिले गर्भवतीहरुलाई आइरन चक्की दिइन्छ ।  तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् ।

गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ । यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ ।

“आर्थिक अभावमा मातृशिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले स्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौँ ।”

सम्बन्धित समाचारसबै