देवानगंजका नागरिकले जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्मको छुट पाउने ||

0 Shares

विराटनगर । सुनसरीको देवानगंज गाउँपालिकाका नागरिकले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।

गाउँपालिकाका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले देवानगंज गाउँपालिका र जीवन विकास सामुदायिक अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक तथा कर्मचारी र उनीहरूका परिवारका सदस्यले अस्पतालका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

कार्तिक ९ गते गाउँपालिकाका उपप्रमुख कुमारी विभा यादव र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदारले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअन्तर्गत बहिरंग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा छुट उपलब्ध हुनेछ।

प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुने सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि पनि अस्पतालले अन्य स्थानीय तहसँग उपचार सेवामा सहजीकरण गर्ने सम्झौता गरिसकेको जनाएको छ।

मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेको २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा आकस्मिक तथा ट्रमा केयर सेवा सञ्चालनमा छ। अस्पतालमा आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयूलगायतका सेवा तथा अत्याधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया र विशेषज्ञ उपचार सेवा उपलब्ध छन्।

यस सम्झौताले देवानगंजका नागरिकलाई उपचार खर्चमा राहत पुग्नुका साथै आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै