खाएको खाना पचाउन हाम्रो पेटमा विभिन्न प्रकारका पाचन रसहरू हुन्छन्। हामी जे खान्छौँ, त्यसलाई पाचन रसहरूले पचाउने काम गर्दछन्। तर, कतिपय कानेकुरा र खानपिन शैली नमिल्दा त्यही खाना पचाउने रस समस्या बनिदिन्छ।
खाना पचाउने एसिड अर्थात् पाचनरस शरीरमा बढी भयो भने माथिल्लो पेट दुख्ने, खाना खाएपछि पेट डम्म हुने, बान्ता आउलाजस्तो हुने समस्या देखिन थाल्छ। यसलाई सामान्य बोलीचालीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षण भएको समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो।
धेरै समयसम्म खाना नखाने, चिल्लो, पिरो, अमिलो, मैदायुक्त र क्याफिनयुक्त खाना, अत्यधिक मादक पदार्थ तथा चुरोटको सेवन, दुखाइ कम गर्ने तथा अन्य औषधीहरूले पेटमा एसिड बढाउने गर्छन्।
स्तै पेटमा रहने एसिड माथिल्लो छाती र घाँटीमा आउन थाल्छ, त्यसलाई जीईआरडी भनिन्छ। यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानी आउने, डकार बढेर आउने आदि समस्या देखिन्छ।
विशेष गरी सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ।
ग्यास्ट्रिक हुने अर्को कारण हो, हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) ब्याक्टेरिया।
यो ब्याक्टेरिया सन् १९८० मा अस्ट्रेलियामा पत्ता लागेको थियो। अरूको जुठो खाना र पानीबाट हाम्रो पेटमा सर्छ। एच पाइलोरी ब्याक्टेरियाले पेटमा एसिड बढाउँछ र ग्यास्ट्रिकको समस्या देखिन्छ।
ग्यास्ट्रिकको समस्या आम नेपालीको समस्याको रूपमा परिचित छ। अझ भनौँ ग्यास्ट्रिक नहुने त मानिस नै छैनन् पनि भनिन्छ।