काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् ।
आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजनगरी प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला । चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ । यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं–अब लोडसेडिङ गराउन लाग्यो भनेर । तर यो तथ्याङ्कलाई मनन गर्नुपर्छ । यो अवरोधलाई क्रमश कम गर्दै लैजाने छ।’
एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।