बोर्ड इतिहासमै कमजोर बन्यो: धितोपत्र बोर्डका कर्मचारीको चिन्ता

0 Shares

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड इतिहासमै कमजोर अवस्थामा रहेको र नियामक निकायजस्तो बन्न नसकेको कर्मचारीहरूले गुनासो गरेका छन् ।

कमजोर नीतिगत आधार र कामकारबाहीमा प्रभावकारिता आउन नसक्दा बोर्ड निकै गम्भीर अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

आइतबार आयोजित कार्यक्रममा बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी युनियनका अध्यक्षहरूले निकै गम्भीर अवस्थामा रहेकाले सरकारले पुँजी बजार सुधार कार्यक्रम लागू गर्नुपर्ने बताए ।

पछिल्लो समय धितोपत्र बोर्डप्रति व्यापक रूपमा जनगुनासो बढिरहेको छ । बजारमा भित्री कारोबार झाँगिँदै गएको, प्रभावकारी अनुगमन र दोषीलाई कारबाही हुन नसकेको, प्राथमिक सेयर निष्कासन (आईपीओ) को अनुमतिपत्र वितरणमा अनियमितता भएको, कमिसन माग्ने गरेको लगायत आरोप बोर्डलाई लाग्दै आएको छ । यस्तो अवस्थामा बोर्डमा सक्रिय दुई कर्मचारी युनियनका अध्यक्षले धितोपत्र बोर्डमा तत्काल सुधारका कार्यक्रम सुरु नगरिए अवस्था निकै डरलाग्दो हुने दाबी गरेका हुन् ।

‘धितोपत्र बोर्ड इतिहासकै गम्भीर क्षणमा छ, अब हामीले भविष्यको दिशा गम्भीर ढंगबाट समीक्षा गरेर अविलम्ब गर्न पहिलो चरणको पुँजी बजार सुधार कार्यक्रम सुरु गर्नुपर्नेछ,’ नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने, ‘पुँजी बजार डाइनामिक छ, यसका अवयव निरन्तर परिवर्तन भइरहन्छन् । तर यी निरन्तर बदलिराख्ने विषयलाई नियमन गर्ने कानुनी संरचना अपूरो छ । यस्तो ऐन दिएर सरकारले बोर्डलाई किन चुस्त नियमन/सुपरिवेक्षण भएन भनेर प्रश्न गर्न मिल्दैन ?’

हाल संसद्मा पेस भएका धितोपत्र ऐनको संशोधन विधेयकले यो क्षेत्रको विद्यमान समस्या सम्बोधन गर्न नसक्ने भएकाले त्यसलाई फिर्ता गरेर परिमार्जन गर्न वा नयाँ ड्राफ्ट गर्न उनले सांसदहरूलाई आग्रह गरे ।

सम्बन्धित समाचारसबै