काठमाडौं, माघ २ — आज देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध सचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। भूकम्पको जोखिमबारे नागरिकलाई सजग बनाउने र तयारी सुदृढ गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ।
यस वर्षको मुख्य समारोह काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको छ, जहाँ भूकम्प सुरक्षा प्रदर्शनीसमेत राखिएको छ। यसका साथै, आज दिउँसो २ बजेर २४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेटको राष्ट्रिय भूकम्पीय सुरक्षा अभ्यास गरिँदैछ। नागरिकलाई ‘ड्रप, कभर एन्ड होल्ड’ अभ्यासमा सहभागी हुन आह्वान गरिएको छ।
यो दिवस वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मनाइन्छ। सो दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले देशभर व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त भूकम्पमा ८ हजार ८१९ जनाको मृत्यु, ८० हजार घर ध्वस्त, तथा घर, विद्यालय, देवालय, पाटीपौवा र अन्य सार्वजनिक भवन गरी २ लाख ७ हजार २४८ संरचना भत्किएका थिए।
त्यसैगरी, वि.सं. २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा पनि ८ हजार ६७० जनाको ज्यान गएको र ७ लाखभन्दा बढी आवासमा क्षति पुगेको तथ्यले भूकम्पको जोखिम अझै गम्भीर रहेको देखाउँछ।
भूकम्प पूर्वतयारी, सुरक्षित निर्माण, आपत्कालीन प्रतिक्रिया र समुदायस्तरको सजगतामार्फत जोखिम न्यूनीकरण गर्नुपर्ने सन्देशसहित आजको दिवस मनाइँदैछ। सजगता नै सुरक्षा हो भन्ने मूल सन्देशका साथ सरकार, सुरक्षा निकाय, सञ्चार माध्यम र सर्वसाधारणको सहभागितामा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।







