काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवाद शुक्रबार थप सतहमा आउने भएको छ। पार्टीका दुई समूहले एकै समयमा फरक–फरक कार्यक्रम तय गरेपछि कांग्रेसको आन्तरिक द्वन्द्व सार्वजनिक रूपमा देखिने संकेत देखिएको छ।
१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षले शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकार सम्मेलन आयोजना गरेको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हुने पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
उता, पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन आयोजना गरी गगन थापालाई सर्वसम्मत सभापति चयन गरेको दाबी गर्ने समूह भने सोही समयमा निर्वाचन आयोग जाने तयारीमा छ। उक्त समूहले आफूहरूलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिन आग्रह गर्दै आवश्यक कागजातसहित आयोगमा निवेदन दिने जनाएको छ।
विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्य–सचिव सुसन वैद्यले जारी गरेको विज्ञप्तिमा शुक्रबार दिउँसो २ बजे नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव चिन्हलगायत विषयमा छलफलका लागि निर्वाचन आयोग, कान्तिपथमा बोलाइएको उल्लेख छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनलाई संस्थापन पक्षले भने अस्वीकार गर्दै आएको छ। केन्द्रीय कार्यसमितिको औपचारिक निर्णयबिना विशेष महाधिवेशन गर्न नमिल्ने संस्थापनको तर्क छ।
तर, गगन समूहले भने पार्टी विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै आफूहरू नै वैधानिक र आधिकारिक नेतृत्व भएको अडान दोहोर्याउँदै आएको छ।
एकै समयमा दुई फरक स्थानमा हुने यी गतिविधिले नेपाली कांग्रेसको आन्तरिक विवाद कुन दिशातर्फ जाने हो भन्ने प्रश्नलाई थप चर्काएको छ।







