मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै गए पनि महोत्तरीका किसान भने खेतबारीको काममै व्यस्त छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएसँगै राजनीतिक गतिविधि तीव्र बनेको छ। तर, चुनावी चहलपहलभन्दा किसानका लागि अहिले खेतीपाती नै प्राथमिक बनेको छ।
उम्मेदवारी दर्ता पर्वजस्तै उत्सवको रूपमा लिइए पनि जिल्लाका अधिकांश किसान भने वसन्तपञ्चमी (श्रीपञ्चमी) लक्षित केशर खन्ने, उखु काटेर चिनी उद्योग पुर्याउने तथा वैशाखी तरकारी रोप्ने काममा दिनभर व्यस्त छन्। खेतीपातीका यी काम समयमै नसकिए उत्पादन र आम्दानीमा असर पर्ने भएकाले किसानलाई भ्याइनभ्याइ परेको हो।
महोत्तरीसहित मिथिला क्षेत्रमा श्रीपञ्चमीका दिन गरिने सरस्वती पूजामा केशर अनिवार्य प्रसादका रूपमा प्रयोग हुने परम्परा छ। यस कारण केशर खेती हुने बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिकाका किसानहरू यतिबेला दिनरात नभनी केशर खन्ने र बजार पुर्याउने काममा जुटेका छन्।
बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री करिब एक बिघामा केशर खेती गर्छन्। ‘केशरको मुख्य बजार यही श्रीपञ्चमी हो। यही बेला बेच्न नसकिए राम्रो मूल्य पाइँदैन,’ उनले भने, ‘चुनाव लागेको त थाहा छ, तर केशर बेच्ने चटारोले राजनीतिक गतिविधि हेर्ने फुर्सद छैन।’
श्रीपञ्चमीपछि केही दिन चुनावी माहोल बुझ्ने उनको इच्छा छ। यस वर्ष श्रीपञ्चमी शुक्रबार परेकाले बिहीबारभित्रै केशर बजार पुर्याउनुपर्ने बाध्यता रहेको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान भोला महतो बताउँछन्। ‘बजार समयमै पुर्याउन नसके घाटा हुन्छ,’ उनले भने।
मनहरिपुरकै ७० वर्षीया किसान विन्देश्वर यादव पनि केशर खन्ने काममै व्यस्त छन्। ‘अब ढिला गर्न मिल्दैन, बिहीबारसम्म बजार लाग्छ,’ उनले भनिन्, ‘यहाँको केशर श्रीपञ्चमीमा मेचीपारिसम्म पुग्ने गर्छ।’
केशरसँगै उखु किसानलाई पनि कामको चाप छ। तयार उखु काटेर चिनी उद्योग पुर्याउने र नयाँ उखु रोप्ने समय यही भएकाले किसान खेतमै केन्द्रित छन्। गौशाला–१० बटुवाका किसान अरुण कुशवाहा भन्छन्, ‘उखु ढिला काटे खेतमै सुक्छ, रोपाइँ ढिला भए जमिनको चिस्यान सकिन्छ।’
जिल्लाको उत्तरी भेगमा उखु र केशर दुवै प्रमुख नगदे बाली हुन्। वर्षभरको जीविकोपार्जन यिनै उत्पादनमा निर्भर भएकाले किसानले खेतीलाई पहिलो प्राथमिकता दिएको कुशवाहाको भनाइ छ।
यसैगरी, जिल्लाभरका किसानलाई वैशाखी तरकारी रोप्ने चटारो पनि उत्तिकै छ। वैशाखी तरकारी माघ १५ भित्र रोपिसक्नुपर्ने मान्यताले गर्दा किसान अहिले खेतबारीमै केन्द्रित भएका छन्। यही कारण उम्मेदवारी दर्ताजस्ता चुनावी कार्यक्रममा किसानको उल्लेख्य सहभागिता देखिएको छैन।
राजनीतिक दलका नेताहरू पनि किसान अहिले खेतीमै व्यस्त रहेको स्वीकार्छन्। भङ्गाहा–९ सखुवाटोलका नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्छन्, ‘हामी किसानसँगै चुनावी अभियानमा छौँ। खेतीपाती सकेपछि उनीहरू विस्तारै चुनावतर्फ ध्यान दिनेछन्।’
किसानहरूले निर्वाचनप्रति चासो कम हुँदै गएको पनि बताएका छन्। तीनै तहका सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै उनीहरूले यसपालिको चुनावमा कृषि क्षेत्रलाई प्राथमिकता दिने स्पष्ट प्रतिबद्धता दल र उम्मेदवारबाट आउनुपर्ने माग गरेका छन्।
(रासस)