सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको गम्भीर लापरवाहीका कारण एक किशोरीको शव अर्कै परिवारलाई बुझाइएपछि सिरहाको गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ । आफ्नी छोरी निशा बानियाँको शव अस्पतालले अर्कैलाई दिएको भन्दै आक्रोशित परिवार तथा आफन्तले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् ।
गोलबजार नगरपालिका–३, जम्दहकी करिब १६ वर्षीया निशा बानियाँको शव माग्दै परिवारले अस्पताल प्रशासनविरुद्ध कडा नाराबाजी गरेका छन् । उनीहरूले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झा र सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहतामाथि कारबाहीको माग गरेका छन् । राजमार्ग अवरोध दिउँसो १ बजेदेखि जारी रहेको छ ।
निशा गत शनिबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उनको शव लहान अस्पताल पठाएको थियो । सोही दिन सप्तरीको खडक नगरपालिका–१ करर्बोनाकी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको थियो ।
पोस्टमार्टमपछि अस्पतालले एउटा शव राधिकाको भएको भन्दै उनका आफन्तलाई जिम्मा लगायो । तर, उक्त शव घर नलगी लहान नजिकैको बलान खोलाको किनारमा दाहसंस्कार गरिएको थियो । पछि अनुसन्धानका क्रममा सो शव वास्तवमा निशाको भएको आशंका खुलेपछि घटनाले नयाँ मोड लिएको हो ।
वैदेशिक रोजगारीका लागि भारतको मुम्बइमा रहेका निशाका आमाबुबा सोमबार मात्रै घर फर्किएका थिए । उनीहरू सिधै पोस्टमार्टमका लागि अस्पताल पुगेका थिए । शव हेर्ने क्रममा उनीहरूले त्यो आफ्नी छोरीको नभएको बताएपछि शव साटासाट भएको तथ्य बाहिर आएको हो ।
घटनापछि सुरुमा पन्छिन खोजेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले पछि शव व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेका छन् । उनले शवगृहमा शव ‘कोडिङ’ गर्नुपर्ने प्रावधान भए पनि अस्पतालमा त्यस्तो अभ्यास नभएको बताएका छन् । “पोस्टमार्टम गरिदिने हाम्रो दायित्व हो, शव बुझाउने प्रक्रिया प्रहरीले हेर्छ,” भन्दै उनले जिम्मेवारी पन्छ्याउने प्रयास गरेका छन् ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहताले पनि शव बुझ्ने प्रक्रियामा त्रुटि भएको स्वीकार्दै शव कोडिङको व्यवस्था नहुँदा यस्तो घटना भएको बताएका छन् ।
यसैबीच, इलाका प्रहरी कार्यालय लहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत छानविनपछि थप कारबाही अघि बढाइने सिरहा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् ।