स्थानीय तह निर्वाचनअघि १५औँ महाधिवेशन गर्ने तयारीमा कांग्रेस : गगन थापा

0 Shares

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्।

काठमाडौं–४ मा शनिबार आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले उम्मेदवार चयन प्रक्रिया पूर्ण रूपमा परिवर्तन गर्न लागेको बताए। उनका अनुसार आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरू वडास्तरबाटै ‘प्राइमरी इलेक्सन’मार्फत छनोट गरिनेछ।

‘अब नयाँ स्थानीय तहको निर्वाचन होस् वा प्रदेशसभा निर्वाचन, त्यसअघि नै पार्टीको महाधिवेशन भइसक्छ,’ थापाले भने, ‘नयाँ महाधिवेशनपछि कांग्रेसका उम्मेदवारको टिकट वडाका साथीहरूले प्राइमरीमार्फत चयन गर्नुहुन्छ।’

उनले अब पार्टीभित्र टिकटका लागि सभापति वा महामन्त्रीको घर धाउनु पर्ने पुरानो अभ्यासको अन्त्य भएको दाबी गरे। ‘अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन, कसैले पनि महामन्त्रीको घर धाउनु पर्दैन,’ उनले भने।

सभापति थापाले कांग्रेसभित्र गुटबन्दी तथा ६०–४० को भागबण्डा प्रणाली समाप्त भएको पनि उल्लेख गरे। ‘यो पार्टीमा अब कुनै गुट छैन, हिजोको जस्तो ६०–४० पनि सकिएको छ,’ उनले भने, ‘पार्टीभित्र पनि भागबण्डा हुँदैन र बाहिर पनि हुँदैन। सबैलाई समान व्यवहार गर्ने गरी पार्टी अघि बढ्छ।’

नागरिक र पार्टी सदस्यलाई सशक्त बनाउने अभियान सुरु भइसकेको भन्दै थापाले कांग्रेस अब पारदर्शी र संस्थागत ढंगले सञ्चालन हुनेमा जोड दिए। पार्टी नेतृत्वसँग अप्राकृतिक वा अपारदर्शी सम्बन्धको अभ्यास अन्त्य भएको उनको भनाइ थियो।

‘यो बदलिएको कांग्रेस हो,’ उनले भने, ‘अब पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन।’

सम्बन्धित समाचारसबै