दलाई लामाको ग्रामी अवार्डले बेइजिङ असन्तुष्ट, ‘राजनीतिक औजार नबनाउन’ चेतावनी

0 Shares

काठमाण्डौं ।  तिब्बती आध्यात्मिक गुरु दलाई लामाले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ग्रामी अवार्ड जितेपछि चीनले कडा आपत्ति जनाएको छ। दलाई लामालाई सम्मान प्रदान गर्नु चीनविरोधी राजनीतिक गतिविधिको निरन्तरता भएको दाबी गर्दै बेइजिङले सार्वजनिक रूपमा असन्तोष व्यक्त गरेको हो।

९० वर्षीय दलाई लामाको अडियो पुस्तक ‘मेडिटेसन्स: द रिफ्लेक्सन्स अफ हिज होलनेस द दलाई लामा’ ले यस वर्षको ग्रामी अवार्डमा ‘अडियोबुक’ विधातर्फ उत्कृष्ट पुरस्कार प्राप्त गरेको हो। अवार्ड घोषणा भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलन गर्दै कला र सांस्कृतिक पुरस्कारलाई चीनविरुद्ध प्रयोग नगर्न आग्रह गरेका छन्।

चीनले लामो समयदेखि दलाई लामालाई विखण्डनकारी र विद्रोही नेताका रूपमा चित्रण गर्दै आएको छ। तिब्बतसम्बन्धी विषय अन्तर्राष्ट्रिय मञ्चमा उठ्नु बेइजिङका लागि संवेदनशील मानिँदै आएको छ।

यसैबीच, भारतको धर्मशालामा निर्वासनमा रहेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले सामाजिक सञ्जालमार्फत ग्रामी अवार्डप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले यस सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि मानवता, करुणा र साझा विश्वव्यापी जिम्मेवारीको पहिचानका रूपमा लिएको बताएका छन्। दलाई लामाको तर्फबाट संगीतकार रुफस वेनराइटले अवार्ड ग्रहण गरेका थिए।

पछिल्लो समय दलाई लामाले आफ्नो उत्तराधिकारी चयनसम्बन्धी योजना सार्वजनिक गरेपछि चीन–तिब्बत सम्बन्ध झनै तनावग्रस्त बनेको छ। सन् १९५९ देखि निर्वासनमा रहेका दलाई लामाले आफ्नो पुनर्जन्म ‘स्वतन्त्र विश्व’मा हुने बताउँदै आएका छन्। तर, चीनले भने उत्तराधिकारी चयन चिनियाँ कानुन, धार्मिक परम्परा र बेइजिङको स्वीकृतिअनुसार मात्रै हुनुपर्ने अडान दोहोर्‍याउँदै आएको छ। एजेन्सी


सम्बन्धित समाचारसबै