जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू अरू कसैलाई प्रधानमन्त्री बनाउन नभई देशको नेतृत्व स्वयं गर्ने लक्ष्यसहित राजनीतिमा आएको बताएका छन्। चुनावी कार्यक्रमका क्रममा जनकपुरधाम पुगेका घिसिङले आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले देशमा विद्यमान राजनीतिक निराशा अन्त्य गर्न र वास्तविक परिवर्तन ल्याउन आफूहरू सक्रिय राजनीतिमा आएको उल्लेख गरे। “हामी देशको नेतृत्व गर्न आएका हौं, अरूलाई प्रधानमन्त्री बनाउने अभियान होइन,” घिसिङले भने, “अब यो देशमा उज्यालो ल्याउने जिम्मा हामीले लिन्छौं।”
घिसिङले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टी धेरै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेको दाबी गर्दै जनताले यसपटक व्यक्ति वा पार्टीभन्दा माथि उठेर देशको समृद्धिलाई केन्द्रमा राखेर मतदान गर्नुपर्ने बताए।
जेनजी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टीलाई उल्लेख गर्दै उनले नयाँ सोच र नयाँ नेतृत्वलाई विश्वास गरी काम गर्ने अवसर दिन मतदातासमक्ष आग्रह गरे। “अब पुरानै शैली दोहोर्याएर देश बदलिँदैन,” उनले भने, “नयाँलाई मौका दिएर परिणाम हेर्ने समय आएको छ।”