इस्लामाबाद । पाकिस्तानको इस्लामाबाद नजिकैको एक शिया मस्जिदमा आइएस (इस्लामिक स्टेट) समूहले दाबी गरेको आत्मघाती विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। अधिकारीहरूले घाइतेको अवस्था गम्भीर रहेको उल्लेख गर्दै मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन्।
घटनाको समय देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको बेला भएको थियो। जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आक्रमणले ठूलो मानविय क्षति पुगेको छ।
प्रधानमन्त्री शाहबाज सरिफले घटनामा संलग्नहरूलाई छिट्टै पत्ता लगाइ न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उप–प्रधानमन्त्री इशाक दारले यस आक्रमणलाई “मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उल्लङ्घन” भएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मस्जिद अगाडिको गेट नजिक धेरै शव र रगतमा भिजेका मानिसहरू देखिएका छन्। चिकित्सक, सुरक्षाकर्मी र स्थानीयहरूले घाइतेलाई उद्धार गर्न मद्दत गरेका थिए।
पाकिस्तानमा सुन्नी बहुल जनसंख्याबीच सियाहरू १०–१५ प्रतिशत मात्र छन् र उनीहरूको बसोबास क्षेत्र बारम्बार लक्षित आक्रमणको शिकार हुने गरेका छन्। यसैबीच, बलुचिस्तान र उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा पृथकतावादी र अन्य इस्लामवादी उग्रवादीहरूलाई अफगानिस्तानको सीमाक्षेत्र सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ। अफगानिस्तानको तालिबान सरकारले भने यी आरोप अस्वीकार गर्दै आएको छ।
यसअघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो। बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीले गरेको आक्रमणमा ३६ सर्वसाधारण र २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो। त्यसको प्रतिकारमा सुरक्षा बलले करिब २०० आतंककारी मारिएको जनाएको थियो।