विराटनगर । देशका ६ वटा महानगरपालिकामध्ये मोरङको विराटनगर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकको आधारमा सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विराटनगरले ७८.११ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।
यसै क्रममा, राजधानी काठमाडौँ महानगरपालिका सबैभन्दा कमजोर ठहरिएको छ। काठमाडौँले केवल ४४.९७ अङ्क प्राप्त गरेर छैटौँ स्थानमा चित्त बुझाउनु परेको छ। आयोगले मूल्याङ्कनका लागि स्थानीय तहहरूको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता, राजस्व परिचालन र सेवा प्रवाह जस्ता पक्षहरूलाई मुख्य आधार मानेको थियो।
प्रतिवेदन अनुसार दोस्रो स्थान ललितपुर महानगरपालिकाको भएको छ, जसले ७६.३३ अङ्क प्राप्त गरेको छ। चितवनको भरतपुर महानगरपालिका ६८.०४ अङ्कका साथ तेस्रो स्थानमा रहँदा, पोखरा महानगरपालिका ५८.०४ अङ्कसहित चौथो स्थानमा र वीरगञ्ज महानगरपालिकाले ५४ अङ्कसहित पाँचौँ स्थान सुरक्षित गरेको छ।