काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न हुँदै गरेको निर्वाचनका क्रममा दुई समूहबीच भएको झडपमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।
खुलना सदर क्षेत्रअन्तर्गत आलिया मदरसा मतदान केन्द्रमा भएको विवादका क्रममा बिएनपी नेता मोहिबुज्जमान कोचीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।
स्थानीय बिएनपी नेताहरूका अनुसार झडपको क्रममा धक्का लागेपछि कोचीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो। उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना बिहीबार बिहान भएको हो। खुलना महानगर प्रहरीका आयुक्त मोहम्मद जहीदुल हसनले बीबीसी बांग्लासँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन्। उनका अनुसार बिहान मतदान केन्द्रमा दुवै पक्षबीच भनाभन भएपछि अवस्था तनावग्रस्त बनेको थियो।
यसैबीच खुलना–२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीले बिहान करिब ८ बजे मतदान केन्द्र परिसरमा भएको प्रचार गतिविधि रोक्ने क्रममा विवाद चर्किएको बताएका छन्। उनका अनुसार आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातको पक्षमा प्रचार गर्न थालेपछि कोचीले आपत्ति जनाएका थिए, जसले झडपको रूप लिएको हो।