ढाका । हालै सम्पन्न आम निर्वाचनमा भारी बहुमत हासिल गरेको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमान आगामी फेब्रुअरी २३ (११ फागुन) मा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सोही दिन उनले सानो आकारको मन्त्रिपरिषद्का सदस्यहरूसहित पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहण समारोहलाई कूटनीतिक महत्त्व दिने उद्देश्यले नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया तथा ब्रुनाई का प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको छ।
यसअघि शपथ ग्रहण समारोह राष्ट्रपति निवास बंगभवनस्थित दरबार हलमा आयोजना हुने गरे पनि यसपटक ठूलो संख्यामा पाहुनाको सहभागिता रहने भएकाले जातीय संसद् भवनको दक्षिण प्लाजामा विशेष समारोह आयोजना गरिने जनाइएको छ।
गत बिहीबार २९९ निर्वाचन क्षेत्रमा सम्पन्न मतदानको नतिजाअनुसार २९७ सिटको मतगणना हुँदा बीएनपीले २०९ सिट जित्दै दुईतिहाइ बहुमत प्राप्त गरेको छ। अदालतको आदेशका कारण दुई सिटको मतगणना रोकिएको छ भने एक सिटमा उम्मेदवारको निधन भएपछि निर्वाचन स्थगित गरिएको छ।
३५० सदस्यीय संसद्मा ५० सिट महिलाका लागि आरक्षित छन्, जसमा प्रत्यक्षतर्फ प्राप्त मतभारका आधारमा दलहरूले समानुपातिक प्रतिनिधित्व पाउने व्यवस्था रहेको छ।