काठमाण्डौं । बङ्गलादेशमा नयाँ सरकार गठनको प्रक्रिया आज औपचारिक चरणमा प्रवेश गर्दैछ। बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीका रूपमा शपथ लिनु हुँदैछ भन्ने जानकारी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन्।
शपथग्रहण समारोह परम्पराअनुसार राष्ट्रपति भवनमा नभई ढाकास्थित राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ। स्थानीय समय अनुसार बिहान १० बजे सांसदहरूको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ हुने तालिका सार्वजनिक गरिएको छ।
समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको भारतसहित १३ देशका प्रतिनिधिलाई निमन्त्रणा पठाइएको छ। निमन्त्रित देशहरूमा नेपाल, चीन, मलेसिया, साउदी अरब, टर्की, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बीएनपीले दुई–तिहाइ नजिकको सफलता हासिल गरेको थियो। ३ सय ५० सदस्यीय संसद्मा ५० सिट महिलाका लागि आरक्षित छन्। सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले २ सय १२ सिट जितेर स्पष्ट बहुमत सुनिश्चित गरेको जनाइएको छ।-एजेन्सी