विराटनगर । सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि १२ टोलीले स्थान सुरक्षित गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सहभागी टोलीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो।
आयोजकका हैसियतले अस्ट्रेलिया र न्युजिल्यान्ड स्वतः छनोट भएका छन्। यसैगरी हाल जारी टी–२० विश्वकपको सुपर–८ चरणमा स्थान बनाएका भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्यान्ड र वेस्ट इन्डिजले पनि आगामी विश्वकपमा सीधा प्रवेश पाएका छन्।
त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय वरियताका आधारमा अफगानिस्तान, बंगलादेश र आयरल्यान्डले पनि प्रतियोगितामा स्थान सुरक्षित गरेका छन्।
अब बाँकी ८ स्थान क्षेत्रीय छनोट प्रतियोगितामार्फत निर्धारण गरिनेछ। छनोट प्रणालीअनुसार अमेरिका क्षेत्रबाट १ टोली, युरोप र अफ्रिकाबाट २–२ टोली तथा एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।