काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन अवधिमा कुनै पनि प्रकारका मत सर्वेक्षण प्रकाशन वा प्रसारण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ।
दशौँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण निषेध गरेको स्मरण गराउँदै उल्लंघन भए कानुनी कारबाही हुने चेतावनी दिनुभयो। निर्वाचनका समयमा गलत सूचनाले मतदातालाई भ्रमित पार्न सक्ने भएकाले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न उहाँले विशेष आग्रह गर्नुभयो।
उहाँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न राजनीतिक दलका समर्थक तथा आम नागरिकलाई आग्रह गर्दै कसैको मानमर्दन गर्ने गतिविधिबाट टाढा रहन अपिल गर्नुभयो। मतदातालाई पनि कुनै दबाब वा प्रभावमा नपरी योग्य प्रतिनिधि चयन गर्न उहाँले आह्वान गर्नुभयो।
निर्वाचन सुरक्षासम्बन्धी नीति र रणनीति तय गर्न सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिँदै भण्डारीले आचारसंहिता विपरीत प्रचारप्रसार गरे जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट कारबाही गरिने स्पष्ट पार्नुभयो।
यसैबीच आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गते हुने निर्वाचनका लागि मतदान अधिकृत नियुक्ति र तालिम प्रक्रिया जारी रहेको जानकारी दिनुभयो। देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र आयोगको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत निर्वाचन शिक्षा सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।
निर्वाचनलाई पारदर्शी बनाउन यसपटक खर्च व्यवस्थापन कार्यविधि लागू गरिएको र राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक भएको निर्वाचनको स्मरणमा २०७३ सालदेखि प्रत्येक वर्ष निर्वाचन दिवस मनाउने परम्परा सुरु गरिएको हो।
आयोगले सबै सरोकारवालालाई आचारसंहिता पालना गर्दै स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ। -रासस