काठमाडौं। डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएका प्रदर्शनका क्रममा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। उनले शुक्रबार व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै पहिलो पटक मृतक सङ्ख्याबारे सार्वजनिक धारणा व्यक्त गरेका हुन्।
पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले इरानका नागरिक आफ्ना शासकभन्दा फरक सोच भएका र कठिन परिस्थितिमा बाँच्न बाध्य रहेको बताए। उनले छोटो समयमै हजारौँ नागरिक मारिएको दाबी गर्दै इरानलाई उचित सम्झौता गर्न आवश्यक रहेको उल्लेख गरे।
ट्रम्पले इरान सरकारले ८३७ जनालाई मृत्युदण्ड दिने तयारी गरेको तर अमेरिकाको चेतावनीपछि उक्त निर्णय रोकिएको पनि जिकिर गरे। उनका अनुसार अमेरिकाले फाँसी कार्यान्वयन गरे तुरुन्त प्रतिक्रिया दिने चेतावनी दिएको थियो।
यसैबीच, इरानमाथि सम्भावित सैन्य कारबाहीबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमित सैन्य आक्रमणको विकल्पबारे छलफल भइरहेको बताएका छन्।