हिटलर जन्मघर प्रहरी चौकीमा रूपान्तरण

0 Shares

काठमाडौँ । एडोल्फ हिटलर जन्मिएको घरलाई प्रहरी चौकीमा रूपान्तरण गर्ने अस्ट्रिया सरकारको निर्णयपछि उनको गृहनगर ब्राउनाउ एम इन मा व्यापक बहस र मिश्रित प्रतिक्रिया देखिएको छ । सरकारले उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन लागेको जनाएको छ ।

सन् १८८९ अप्रिल २० मा जन्मिएको उक्त भवन सहरको केन्द्रमा अवस्थित छ । भवनअगाडि राखिएको स्मारक ढुंगामा शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न तथा फासीवादी शासन पुनः नदोहोरियोस् भन्ने सन्देश अंकित छ । हाल भवनको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ र सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०१६ मा विशेष कानून पारित गर्दै निजी स्वामित्वबाट भवन नियन्त्रणमा लिएको थियो । यो कदम भवनलाई नाजी समर्थकहरूको तीर्थस्थल बन्नबाट रोक्न ‘बेअसर’ बनाउने नीतिअन्तर्गत चालिएको हो । नाजी जर्मनी ले सन् १९३८ मा अस्ट्रिया कब्जा गरेको थियो । नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने करिब एक लाख ३० हजारलाई निर्वासनमा पठाइएको थियो ।

स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले निर्णयलाई “दुई धारको तरबार” भन्दै यसले चरमपन्थी जमघट घटाउन सक्ने तर भवनलाई शान्ति र संवाद केन्द्रका रूपमा पनि प्रयोग गर्न सकिने बताइन् । नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई समस्यापूर्ण ठहर गर्दै स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने धारणा राखे ।

यसअघि भवनलाई शान्ति निर्माण तथा ऐतिहासिक सचेतना प्रवर्द्धन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको बताइएको छ । स्थानीय व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ऐतिहासिक सन्दर्भमा प्रस्तुत गर्नु उपयोगी हुने बताए । पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ ।

यद्यपि केहीले निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । इलेक्ट्रिकल इन्जिनियर वोल्फगांग लेथनरका अनुसार भवनलाई प्रहरी चौकीमा रूपान्तरण गर्दा यसले चरमपन्थीहरूको तीर्थस्थल बन्ने सम्भावना घटाउनेछ ।

ब्राउनाउ नगरपालिकाले औपचारिक टिप्पणी गर्न अस्वीकार गरे पनि अस्ट्रियामा नाजी अतीत र नरसंहार इतिहासलाई कसरी सम्झने र सम्बोधन गर्ने भन्ने बहस पुनः चुलिएको छ । अति–दक्षिणपन्थी फ्रिडम पार्टी अफ अस्ट्रिया सन् २०२४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बने पनि सरकार गठन गर्न असफल भएको थियो ।

इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नबीच हिटलर जन्मघरको नयाँ प्रयोगले अस्ट्रियामा स्मृति, जिम्मेवारी र भविष्यको दिशाबारे पुनः गम्भीर बहस जन्माएको छ ।

सम्बन्धित समाचारसबै