राम सीताको डोलामा रङ चढेपछि मिथिलाञ्चलमा होली आरम्भ

0 Shares

महोत्तरी । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा भगवान् मिथिलाविहारी रामचन्द्र र माता सीताले रङ,अबिर साटासाट गरेसँगै मिथिलाञ्चलमा यस वर्षको होली पर्व विधिवत् रूपमा सुरु भएको छ।

परिक्रमामा सहभागी साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा आज बिहान धार्मिक विधिअनुसार भगवान् रामचन्द्र र माता सीताको डोला तथा मूर्तिमा रङ,अबिर अर्पण गर्दै होली खेलाइएको थियो। परिक्रमा यात्रामा सहभागी बाबा नवलकिशोर दासका अनुसार भगवान्ले होली खेलेको स्मरणमा हजारौँ परिक्रमायात्रीले पनि एकापसमा रङ साटासाट गरी उत्सवको आरम्भ गरेका हुन्।

होलीको प्रारम्भसँगै मिथिलाञ्चलका गाउँ गाउँ र घर घरमा फागुनी माहोल छाएको छ। जलेश्वर नगरपालिका–८ का पण्डित धीरेन्द्र झाका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि होली गीत, नाचगान, हाँसोठट्टा तथा व्यङ्ग्यात्मक प्रस्तुति सुरु भइसकेका छन्।

परम्पराअनुसार मिथिलाञ्चलका श्रद्धालुहरू भगवान् रामको वनवाससँग जोडिएको स्मरणमा १५ दिने परिक्रमा गर्ने चलन छ। यस वर्षको परिक्रमा यात्रा हनुमानगढी मा फागुन ४ गते डोला जम्मा भई फागुन ५ गतेदेखि भारतको कलाणेश्वरबाट सुरु भएको हो। निर्धारित तालिकाअनुसार १५ दिनपछि यात्रा जनकपुरमा पुगेर समापन हुनेछ।

सातौँ दिनको बास कञ्चनवनमा पूरा गरी आज परिक्रमायात्रीहरू भगवान् रामचन्द्र र माता सीताको डोला साथमा लिएर आठौँ दिनको बासका लागि धनुषाको पर्वतातर्फ प्रस्थान गरेका छन्।

सम्बन्धित समाचारसबै