काठमाडौँ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लक्षित गरी आएको इरानी ड्रोन सुरक्षा निकायले बीचमै अवरोध गर्दा खसेका अवशेषका कारण एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
विमानस्थल प्रशासनका अनुसार ड्रोन सफलतापूर्वक निष्क्रिय पारिए पनि अवशेष जमिनमा खस्दा मानवीय क्षति भएको हो। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
अधिकारिहरूले सर्वसाधारणलाई अपुष्ट सूचना वा अफवाह नफैलाउन आग्रह गर्दै अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोतमा मात्र भर पर्न अनुरोध गरेका छन्। घटनासम्बन्धी थप विवरण उपलब्ध भएलगत्तै सार्वजनिक गरिने बताइएको छ।
यसैबीच दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सामान्य क्षति पुगेको छ। विमानस्थल परिसरमा भएको असरका कारण चार जना कर्मचारी घाइते भएका छन्।
Dubai Airportsले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आपतकालीन उद्धार टोली तत्काल परिचालन गरी सम्बन्धित निकायसँग समन्वयमा अवस्था नियन्त्रणमा लिइएको जनाएको छ।