पोखरामा पर्यटक आगमन घट्यो

0 Shares

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा पर्यटक आगमन घटेको छ। विशेषगरी युरोप र अमेरिकाबाट आउने पर्यटकहरू कम हुन थालेका छन्।

दुबई, कतार र साउदी अरेबिया जस्ता मुख्य ट्रान्जिट देशहरूमा समस्या देखिएपछि धेरै पर्यटकले आफ्नो यात्रा योजना रद्द गरिरहेका छन्। पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार पछिल्लो समय होटल, ट्राभल र ट्रेकिङका बुकिङहरू धमाधम रद्द भइरहेका छन्।

नेपाल आउने अधिकांश पर्यटक मध्यपूर्वका देश हुँदै आउने भएकाले त्यहाँको अवस्था बिग्रिँदा प्रत्यक्ष असर परेको हो। साथै इन्धन अभाव र उडान अनिश्चितताले पनि समस्या थपिएको छ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अन्नपूर्ण पदयात्राको मुख्य सिजन (मार्च–मे) मा समेत अपेक्षाअनुसार पर्यटक आएका छैनन्। विशेषगरी युरोप र अमेरिकाबाट आउने ट्रेकरहरू कम भएका छन्। अमेरिकाले आफ्ना नागरिकका लागि सावधानी अपनाउन सुझाएको कारण पनि प्रभाव परेको उनले बताए।

पर्यटन व्यवसायी नेत्र पौडेलका अनुसार इजरायल, अमेरिका र इरानबीचको तनावका कारण पोखरामा अग्रिम बुकिङहरू निरन्तर रद्द भइरहेका छन्। यसले होटल, ट्राभल र ट्रेकिङ व्यवसायमा ठूलो असर पारेको छ।

यद्यपि, भारतीय र आन्तरिक पर्यटकको आगमन भने सामान्य रहेको व्यवसायीहरूको भनाइ छ।

सम्बन्धित समाचारसबै