काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा एक रोचक परिवर्तन देखिएको छ । नायिकाहरू आफैँ चलचित्र निर्माणमा सक्रिय हुन थालेका छन्। मुख्यधाराका चलचित्रमा व्यस्त रहँदै आएका कलाकारहरू नै अब निर्माता र निर्देशकको भूमिकामा देखिन थालेका हुन्।
केकी अधिकारी, प्रियंका कार्की, बेनिशा हमाल, नीता ढुंगाना, दीपाश्री निरौला, आना शर्मा र स्वस्तिमा खड्काजस्ता चर्चित अनुहारहरू अहिले निर्माण क्षेत्रमा सक्रिय छन्।
अभिनेत्री केकी अधिकारीका अनुसार नायिकाहरू निर्माणमा आउनुको मुख्य कारण करिअरलाई दिगो बनाउनु हो। उनी भन्छिन्, महिला कलाकारको फिल्मी करिअर पुरुषको तुलनामा छोटो हुने मनोविज्ञानले पनि यो निर्णयमा प्रभाव पारेको छ। अभिनयका अवसर घटे पनि कला क्षेत्रमा निरन्तर रहिरहने उद्देश्यले नायिकाहरू निर्माणमा लागिरहेका छन्।
महिलाप्रधान कथाहरू कम बन्नु र नायिकाहरूलाई केन्द्रीय भूमिकामा कम अवसर मिल्नु अर्को मुख्य कारण हो। केकीका अनुसार निर्माण र निर्देशन आफ्नै हातमा हुँदा आफूले चाहेको कथा र पात्र प्रस्तुत गर्न सकिन्छ। यसले नयाँ दृष्टिकोणका कथाहरू सिनेमा उद्योगमा भित्र्याउन मद्दत गर्छ।
केकीले महिलाको भावनालाई महिलाले नै गहिराइमा बुझ्न सक्ने तर्क गर्छिन्। उनका अनुसार महिला निर्माताहरू बढ्दा समाजका फरक र नयाँ कथा सिनेमा मार्फत प्रस्तुत हुने सम्भावना बढ्छ।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भन्छिन्, नायिकाहरू आफूले लामो समय काम गरेको क्षेत्रप्रति माया र लगावका कारण पनि निर्माणमा आएका हुन्। साथै, आफूले मन लागेको विषय उठान गर्न र आफ्नो प्रतिभा प्रयोग गर्न उनीहरू लगानी गर्न तयार छन्।
उनका अनुसार नेपाली सिनेमा अझै पनि पुरुष केन्द्रित छ, जहाँ शक्तिशाली महिला भूमिकाको अभाव छ। यही कमी पूरा गर्न पनि नायिकाहरू आफैँ निर्माणमा अगाडि बढिरहेका छन्।
अभिनेत्री बेनिशा हमालका अनुसार नायिकाहरूले आफूले खोजेजस्तो पात्र र स्पेस पाउन नसक्दा निर्माणमा आउन थालेका हुन्। उनी भन्छिन्, अहिले पनि धेरै फिल्ममा पहिले नायक चयन गरिन्छ र त्यसपछि मात्रै नायिका खोजिन्छ, जसले महिलालाई दोस्रो प्राथमिकतामा राखिएको देखाउँछ।
उनका अनुसार आफ्नै निर्माणमा भने आफूले चाहेको कथा, पात्र र प्रस्तुति सम्भव हुन्छ। साथै, नयाँ कुरा सिक्ने अवसर पनि निर्माणमा आउनुको अर्को कारण हो।
चलचित्र निर्माण ठूलो लगानी र जोखिमसँग जोडिएको क्षेत्र हो। करोडौँ रुपैयाँ लगानी हुँदा पनि फिल्म सफल नहुन सक्छ। तर सफल फिल्मले राम्रो आम्दानी दिने भएकाले आर्थिक सम्भावना पनि उत्तिकै छ। दीपाश्री निरौला भन्छिन्, “राम्रा सिनेमाले राम्रो कमाइ गरिरहेका छन्, त्यसैले लगानी र सिर्जनशीलता दुवैका लागि निर्माणमा आउन आकर्षण बढेको हो।”
केकी अधिकारीले अघिल्लो पुस्ताका कलाकारहरू करिश्मा मानन्धर, झरना थापा, रेखा थापाले पनि निर्माणमा हात हालेको स्मरण गराउँछिन्। तर पछिल्लो समय भने महिला कलाकारहरूको सहभागिता अझ व्यापक र सक्रिय बन्दै गएको देखिन्छ।
हाल, केकी अधिकारी ‘बोक्सीको घर’पछि ‘पेट्रोल पम्प’ निर्माणमा लागेकी छन्। प्रियंका कार्की ‘मास्टर्नी’, नीता ढुंगाना ‘पार्वती’, आना शर्मा ‘रमिताको पिरती’ र स्वस्तिमा खड्का ‘बेहुली फ्रम मेघौली’जस्ता प्रोजेक्टमा संलग्न छन्। दीपाश्री निरौला ‘छक्का पञ्जा’ शृंखलामार्फत निरन्तर निर्माण र निर्देशनमा सक्रिय छिन्।
नेपाली सिनेमा उद्योगमा नायिकाहरूको बढ्दो सहभागिता केवल ट्रेन्ड मात्र होइन, संरचनात्मक परिवर्तनको संकेत हो। आफ्नो करिअरलाई दिगो बनाउने, आफ्नै कथा भन्न र अवसर सिर्जना गर्ने उद्देश्यले नायिकाहरू निर्माता बन्न थालेका छन्। यसले भविष्यमा नेपाली चलचित्र उद्योगलाई अझ समावेशी र विविध बनाउने अपेक्षा गरिएको छ।