संसदको मनसुन सत्रको पहिलो दिनै दिल्ली तनावग्रस्त, कक्रोच पार्टीको मार्चले निम्त्यायो सङ्कट ।

0 Shares

भारतमा संसदको मनसुन अधिवेशन सुरू भएको पहिलो दिन सोमबार कक्रोच जनता पार्टी (सिजेपी) ले संसदसम्म मार्चपास कार्यक्रम आह्वान गरेको छ।

‘संसद जाऔं’ (चलो संसद) मार्चको आह्वानबीच सिजेपीका संस्थापक अभिजीत दीपके र हाल अनसनरत सोनाम वाङचुककी पत्नी गीताञ्जली जे आङ्मोले संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। तर प्रहरीले उनीहरूलाई बाटोमै रोकेको छ।प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार, अभिजीत दीपके र गीताञ्जलीको नेतृत्वमा प्रदर्शनकारीहरू संसदतर्फ अघि बढिरहेका थिए। तर बैरिकेड राखेर बसेका सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयास गरे। जब प्रदर्शनकारीहरू बलपूर्वक अघि बढ्न खोजे, प्रहरीले अश्रुग्यासका गोला प्रहार गर्‍यो, जसका कारण प्रदर्शनकारीहरूबीच भागदौड मच्चिएको थियो।

कक्रोच जनता पार्टीले आफ्ना समर्थकहरूले जुनसुकै अवस्थामा पनि संसदसम्म शान्तिपूर्ण मार्च गर्ने दाबी गरेको थियो। सिजेपीले ‘एक्स’मा लेखेको थियो, ‘मुसलधारे वर्षा र कडा सुरक्षा… तर आज कक्रोचलाई कसैले रोक्न सक्ने छैन।’सामाजिक सञ्जालमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएका थुप्रै तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। समाचार एजेन्सी एएनआईको भिडियोमा र्‍यापिड एक्सन फोर्सका जवानहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गरिरहेको देखिन्छ।

सिजेपी प्रवक्ता सौरभ दासले पार्टीका संस्थापक अभिजीत दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्।

प्रवक्ता दासले सबै सांसदहरूलाई तत्काल सडकमा आएर विद्यार्थीहरूलाई समर्थन गर्न अपिल गरेका छन्। उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि निर्दयी रूपमा कुटपिट गरिरहेको आरोप समेत लगाएका छन्।

यसैबीच, सिजेपी प्रवक्ता सौरभ दासले ‘एक्स’मार्फत जानकारी दिँदै भनेका छन्, ‘म र आशुतोष रांका सिजेपीका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डालाई भेट्न जाँदैछौं। सरकारले बिहान वार्ताका लागि सम्पर्क गरेको थियो। हाम्रा मागहरू स्पष्ट छन् र ठूलो संख्यामा युवाहरू सडकमा भेला भएका छन्।’

सोमबार (जुलाई २०) देखि भारतीय संसदको मनसुन सत्र सुरू भएको हो। सत्रको पहिलो दिन नै प्रदर्शनकारीहरू संसद भवन पुगेर आफ्ना मागहरू दर्ता गराउन चाहन्थे।

सिजेपीका संस्थापक अभिजीत दीपकेले आइतबार बिबिसीसँग कुरा गर्दै भनेका थिए, ‘हामी हजारौंको संख्यामा बिहान ९ बजे संसदका लागि निस्कनेछौं। हाम्रा जुनसुकै मागहरू छन्, ती त्यहीँ राख्नेछौं। हाम्रो प्रतिनिधिमण्डललाई भित्र जान दिइओस् ताकि हामी आफ्ना मागहरू प्रस्तुत गर्न सकौं।’

यसैबीच, अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनका तीन जना सदस्यले केही विपक्षी नेता, सामाजिक कार्यकर्ता र कलाकारहरूको अपिलमा आफ्नो भोक हड्ताल समाप्त गरेका छन्।

२३ दिनदेखि भोक हड्तालमा बसेका नेहा, आमिन र मनिषले भोक हड्ताल तोडेका हुन्।

दिल्ली प्रहरीले आइतबार साँझ सूचना जारी गर्दै कुनै पनि किसिमको मार्चको अनुमति नदिएको स्पष्ट पारेको थियो।

नयाँ दिल्लीका डिसिपी सचिन शर्माले भने, ‘यस्तो कुनै मार्चका लागि दिल्ली प्रहरीलाई निवेदन प्राप्त भएको छैन र अनुमति पनि दिइएको छैन। नयाँ दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू छ। यसअन्तर्गत जन्तर-मन्तरस्थित तोकिएको प्रदर्शन स्थलबाहेक ५ वा सोभन्दा बढी मानिस जम्मा हुन, विरोध मार्च निकाल्न वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध छ।’

दिल्ली प्रहरीले सर्वसाधारणलाई यो मार्चमा सहभागी नहुन अपिल गरेको छ। संसद सत्रलाई ध्यानमा राख्दै आम जनताको सुरक्षा, कानुन व्यवस्था र महत्त्वपूर्ण सरकारी निकायहरूको सुरक्षाका लागि व्यापक सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।

जन्तन्तर-मन्तर क्षेत्रमा करिब सात फिट अग्ला बैरिकेडहरू लगाएर ४ तहको कडा सुरक्षा घेरा तयार पारिएको छ।

सुरूमा यो आन्दोलनबाट दूरी बनाएका केही विपक्षी नेताहरू अहिले व्यक्तिगत रूपमा यसमा जोडिन थालेका छन्।

दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसौदिया आइतबार धर्ना स्थल पुगेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सोमबार शिक्षा क्रान्तिको समर्थनमा हुने प्रोटेस्ट मार्चका लागि म पनि जन्तर-मन्तर पुग्नेछु। यो मार्च कुनै एक व्यक्ति वा संगठनको समर्थनमा होइन, देशका बालबालिकाको भविष्यका लागि हो।’

समाजवादी पार्टीका सांसदहरू प्रिया सरोज, राजीव राय र इकराम हसन पनि जन्तर-मन्तर पुगेका थिए। उनीहरूले आफ्नो पार्टी सिजेपीको यो आन्दोलनको साथमा रहेको ऐक्यबद्धता जनाएका छन्।

कांग्रेस प्रवक्ता एवं राज्य सभा सांसद पवन खेडाले पनि जन्तर-मन्तर पुगेर सोनाम वाङचुक र आन्दोलनकारीहरूसँग भेट गरी बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखेर अनसन तोड्न आग्रह गरेका थिए। यद्यपि, कांग्रेसका कुनै शीर्ष नेता मार्चमा सहभागी हुनेबारे आधिकारिक घोषणा गरिएको छैन।

सम्बन्धित समाचारसबै