चिकित्सा शिक्षा आयोगद्वारा निर्देशक पदका लागि १२ उम्मेदवार सर्टलिस्ट ||

0 Shares

काठमाडौं, साउन ६ — चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।

आयोगका अनुसार गत असार २६ गते प्रकाशित दरखास्त आह्वानअनुसार प्राप्त आवेदनमध्ये शैक्षिक योग्यता, कार्यअनुभव तथा उम्मेदवारहरूले पेश गरेको सोचपत्रको मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १२ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको हो।

छनोट प्रक्रिया राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ अनुसार गरिएको आयोगले जनाएको छ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दिपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. विनोदकुमार यादव, प्रा.डा. मृगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईं आचार्य, प्रा.डा. सुरज बज्राचार्य तथा प्रा.डा. सैलेस प्रधान रहेका छन्।

आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रमअनुसार पहिलो समूहका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ८ बजे, दोस्रो समूहको बिहान ११ बजे र तेस्रो समूहको अपराह्न २ बजे हुनेछ।

आयोगले सबै उम्मेदवारलाई आवेदनसँग संलग्न गरिएका सक्कल कागजात, १५ मिनेटको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रतिलिपिसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।

सम्बन्धित समाचारसबै