झापामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा: सांसद इन्दिरा रानाद्वारा १७ जनालाई हस्तान्तरण |

0 Shares

झापा — झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ परिवार अव्यवस्थित बसोबासीले लामो पर्खाइपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

जिल्ला भूमि समस्या समाधान समिति झापाद्वारा अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेकी हुन्।

लालपुर्जा वितरण गर्दै सांसद रानाले वर्षौँदेखि थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। “आफ्नै भूमिमा कानुनी स्वामित्व पाउँदा नागरिकमा खुसी छाएको छ,” उनले भनिन्, “यसले सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै नागरिकको आर्थिक र सामाजिक सुरक्षामा समेत ठूलो टेवा पुर्‍याउँछ।”कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष शिवराम गेलालले सरकारको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर वास्तविक लाभग्राहीलाई मात्र पुर्जा वितरण गरिएको जानकारी दिए।

नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले वर्षौँदेखि पुर्जाविहीन रहेका नगरवासीलाई लालपुर्जा हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गरे।वडा नं. ११ मा यसअघि पनि १४४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकिएको छ। अर्जुनधाराका ११ वटै वडामा हाल नयाँ सूचीकरण अनुसार ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र ६ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन्।

सम्बन्धित समाचारसबै