काठमाडौँ।
नर्सिङ क्षेत्रको समग्र सुधार र १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रमा व्याप्त श्रमशोषणको अन्त्य र सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै नर्सहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।
अस्पताल अगाडि भेला भएका नर्सहरूले ‘न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर’, ‘ज्योति रानाभाटको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ-जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप जारी गर’ र ‘नर्स बचाऔँ-स्वास्थ्य बचाऔँ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसअघि सरकारसँग भएका सम्झौता र प्रतिबद्धताहरू कार्यान्वयन नभएको भन्दै आन्दोलनरत नर्सहरू थप आक्रोशित बनेका छन्। उनीहरूले आफूहरूका माग तत्काल पूरा नगरिए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।
